नेकपा विशेष राष्ट्रिय अभियानको तयारीमा

nekapa
लाेकपाटी न्यूज

काठमाडौं, २८ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरेको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरेको पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पठाइसकेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाएका हुन्। सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। सम्पूर्ण नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी अभियान सञ्चालन गर्न लागेको हो।

पार्टीका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले पार्टीको निर्देशनअनुसार प्रदेशदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए। सुदूरपश्चिम प्रदेश कमिटी मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको बताउँदै रावलले पार्टी एकताका सन्देश दिन गाउँगाउँसम्म अभियान सञ्चालन गरिने बताए।

नेकपाले २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्ला र छवटा महानगरपालिकाको इञ्चार्ज, तथा सह-इञ्चार्ज, पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरुका इञ्चार्ज र सह-इञ्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ। एकता सम्पन्न हुन बाँकी रहेका जिल्लाको काम पार्टीले जारी गरेको मापदण्ड तथा कार्यविधीअनुसार सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।