महोत्तरी, २७ भदौ । एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो। एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि शुक्रवार प्रहरीले सो घटनाबारे जानकारी गराएको छ।
एक साताअघि रातिको बेला करीव ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए। किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन्।
यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ। तर, प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।



लाेकपाटी न्यूज
