चितवन, २६ भदाै। भरतपर महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग पुर्याउन आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको छ । महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमूख रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई एक हजार डेङ्गु किट प्रदान गरेकी हुन् ।
कार्यक्रममा महानगर प्रमूख दाहालले यस कदमबाट भरतपुर महानगरमा फैलिरहेको डेङ्गुका बिरामीहरुको उपचारमा सहज हुने विश्वास गरिन् । उनले भनिन्, ‘कुनै पनि डेङगुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनशायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरेका हौँ ।’
उनले महानगर नगरवासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भिर रहेको बताउँदै भनिन्, ‘महानगरले एकातिर सचेतनाको कार्यक्रम गर्दै आएको छ भने अर्कोतिर उपचारमा कुनै किसिमको समस्या नआहोस् भन्ने हेतुले किट हस्तान्तरणको काम गरिरहेको छ ।’
उनले डेङ्गु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत सबैमा अपिल गरिन् । यो महामारीलाई नियन्त्रणमा ल्याउनु सबैको सामुहिक दायित्व भएको बताउँदै प्रमुख दाहालले सबैलाइ सहयोग गर्न आग्रह गरिन्।
महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका मेसु डा श्रीरामतिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताए। कार्यक्रममा उपप्रमूख पार्बती शाह ठकुरी, प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीलगायतको सहभगिता रहेको थियो।
चितवनमा डेङ्गुको बिरामीको संख्या दैनिक रुपमा बढ्दो छ । गत मंगलबार १ हजार ३०० जनामा डेङ्गु देखिएकोमा बुधबारसम्म त्याे सङ्ख्या बढेर एक हजार ४६० पुगेको छ ।



लाेकपाटी न्यूज

