कास्की, २६ भदौ। शहिद तथा बेपत्ता सन्तति फाउण्डेशनले कास्कीको मझेरीपाटन स्थित रहेको शहिद स्मृति आवासीय उ.मा.विमा वक्तृत्वकला प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ। फाउण्डेशनले शहिद सुरेश वाग्ले ‘वाशु’ र भिमसेन पोखरेल ‘वैरागी’ को २१ औं स्मृति दिवसको सन्दर्भमा सो कार्यक्रम सम्पन्न गरेको हो।
२५ जना प्रतिस्पर्धी रहेको सो प्रतियोगीतामा सन्तोष जेठेरा प्रथम, नविन विक, प्रविन मगर र मनिषा गुरुङ क्रमशः द्वितीय, तृतीय र सान्त्वना हुन सफल भएका छन्। प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सयका साथमा कपि, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।
प्रतियोगीताको निर्णय गर्नको लागि कल्पना चिलवालको संयोजकत्वमा लक्ष्मी पोखरेल र सामना श्रेष्ठ सहितको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो।
फाउण्डेशनका अध्यक्ष प्रमोद पौड्यालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै गण्डकी प्रदेशकी आन्तरिक मामिला मन्त्री हरि चुमनले शहिदहरुका बलिदानबाट आजको गणतन्त्रात्मक राज्य व्यवस्था आएको बताए । उनले सुरेश वाग्ले र भिमसेन पोखरेलसँगको सहकार्य अझै ताजै भन्दै उनीहरुको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।
त्यस्तै संस्थाका अध्यक्ष प्रमोद पौड्यालले कार्यक्रमको समापन गर्दै पाँच वटै स्कूलहरुमा यस्ता कार्यक्रम गरिने र देशैभरिका शहिद र बेपत्ता योद्धाका सन्ततिहरुलाई फाउण्डेशनमा समावेश गरी अघि बढ्ने प्रतिबद्धता जनाए।
शहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेश इञ्चार्ज सामना श्रेष्ठले स्वागत मन्तव्य दिएकाे सो कार्यक्रममा विशेष अतिथिका रुपमा विद्यालयका प्रिन्सिपल मोना गिरी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो।



लाेकपाटी न्यूज

