काठमाडौं, २६ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा निवेदन दिएको छ।आगामी उपनिर्वाचनलाई लक्षित गरी दल दर्ताका लागि नेकपाले निर्वाचन आयोगमा निवेदन दिएको हो।
आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि बिहीबार दल दर्ताको निवेदन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपा नेता खिमलाल देवकोटालगायतका नेताहरु दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले नेकपाको तर्फबाट दल दर्ताको निवेदन आएको र उक्त निवेदन निर्वाचन आयोगको समितिमा पेश गरेपछि दर्ता गर्ने सम्बन्धमा निर्णय हुने जानकारी दिए। निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि प्रतिनिधिसभा सदस्य पदका लागि १, प्रदेशसभा सदस्य पदका लागि ३, उपमहानगरपालिकाको मेयर पदका लागि १,गाउँपालिकाको अध्यक्ष पदका लागि २, गाउँपालिकाको उपाध्यक्ष पदका लागि १ र स्थानीय तहका विभिन्न वडाका वडाध्यक्षहरुका लागि ४२ ठाउँमा निर्वाचन गर्दै छ।
यसअघि सम्पन्न निर्वाचन पछि मात्रै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएका कारण नेकपाले आगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्नु परेको हो।



लाेकपाटी न्यूज

