भेष बदलेर अमेरिका जान लागेका पटेल पक्राउ

Patel pic
लाेकपाटी न्यूज

काठमाडौं, २६ भदौ। अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन्। भेष बदलेर अमेरिका जान लागेका भारतीय ३२ वर्षे युवक ८१ वर्षे भेषमा अमेरिका जान लागेको समाचार संस्था सीएनएनले जनाएको छ।

उनलाई अमेरिकी शहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिएको हो।

फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए। राहदानीमा उनको जन्ममिति फेब्रअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो।

यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमेरसँग मेल खाएजस्तो नदेखिएपछि सोधपुछ गर्दा उनले हुलिया बदलेको पाइएको इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले बताए।