नेकपा सचिवालय बैठक : यी विषयमा गर्‍यो निर्णय

Nekapa_Sachiwalay
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले दुईवटा विषयमा निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी उप निर्वाचनमा भाग लिने र पार्टी एकतासम्बन्धी निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले जारी गरेको सूचनाका आधारमा स्थानीय तहदेखि संघीय संसदसम्म रिक्त रहेका पदमा पार्टीले चुनाव लडन आवश्यक पर्ने सबै तयारी गरी दल दर्ता गर्ने निर्णय गरेको हो।

यसअघि निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बेग्लाबेग्लै दलका रुपमा निर्वाचन लडेपनि अहिले एकतापछि भने नयाँ दल दर्ता भएको छैन। आवश्यक प्रक्रिया पुरा गरी यही महिनाभित्र दल दर्ता गर्न महासचिव विष्णु पौडेलको जिम्मेवारीमा आवश्यक कार्य गर्ने निर्णय गरेको श्रेष्ठले जनाए।

यसैगरी एकतासम्बन्धी बाँकी रहेका विषयमा भने अर्को बैठकमा निर्णय गरिने उनले जनाए। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएको बेला अर्का अध्यक्ष प्रचण्डले दुईपटक सचिवालयको बैठक बोलाएका थिए। त्यसयता भने बेठक बस्न सकेको थिएन ।