राजतन्त्रका प्रेतात्माहरु भड्किन खज्दैछन् : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं, २३ भदौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यस्तो कुरा स्वीकार्य नभएको बताएका छन्। सहिदहरु र नेताहरुलाई अपमान गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको टिप्पणी गरे।

‘सहिदहरुको बलिदानले युगान्तकारी परिवर्तनको आधारशीला खडा भएको थियो, त्यसलाई अपमानित गर्ने, सहिदहरुलाई अपमानित गर्ने या अवमूल्यन गर्ने, नेताहरुलाई बदनाम गर्ने नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ,’ उनले भने, ‘हुन त चिहानमा पुगिसकेको फेरि फर्किने भन्ने त विज्ञानले मान्दैन। तर प्रेतआत्मा बेला बेलामा आउने र जिवित मान्छेहरुलाई कुनै-कुनै रुपले दु:ख दिने गर्दारहेछन्।’

एक थरि मानिसहरुले क्रान्तिकारी विद्रोह आन्दोलन र त्यसका नेताहरुलाई वदनाम गर्नको लागि तल्लो स्तरमा उत्रेर अनर्गल प्रचारवाजी गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसता व्यक्तिहरु हिजोका सामन्तवाद र निरङकुसतावादीहरुलाई फेरि अगाडि ल्याउने षड्यन्त्रा झिल्काहरु भएकोले त्यस्ता गतिविधिहरु आफुलाई स्वीकार नहुने बताए।

उनले यस्तो बेलामा सकारात्मक परिणामद्वारा जनतालाई परिचालन गर्ने र एकतालाई बलियो बनाएर पार्टीको वैचारिक राजनीतिक लाइन अनुसार सांगठनिक विधिमा लगेर बलियो पार्टीका रुपमा स्थापित गर्नका लागि अपिल गरे। उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ। यो कुरा हामी सबैले आत्मसाथ गर्न, जनतालाई र युवाहरुलाई उद्देश्यको निम्ति समर्पित गर्न अपिल गर्न जरुरी छ ।’

पार्टी एकता प्रक्रिया केही ढिला भएको र सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्ने प्रश्न प्रति पार्टीका नेताहरुको ध्यानाकर्षण भएको उनले बताए। सरकारबाट राम्रा काम भएको जिकीर गर्दै उनलेले अब कार्यकर्ता र जनपरिचालनका लागि देशव्यापी अभियान चलाउने जानकारी दिए।

‘राम्रा काम नभएका होइनन्, राम्रा काम गर्न नखोजिएको होइन, तर जनताका आशा अपेक्षाअनुसार काम नभएकोप्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरो गरी गएको छ,’ प्रचण्डले भने, ‘हामीले पार्टी एकता प्रक्रियालाई अन्तिममा पुर्याएका छौं र अब देशव्यापी रुपमा कार्यक्रम लिएर कार्यकर्ता पंक्ति र जनताको पंक्तिमा जाने र एकचोटि हजारौं लाखौं जनतालाई फेरि एक पटक अपिल गर्ने अन्तिम तयारीमा छौं।’