दाङ, २२ भदाै। हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सकाे पहिलो अधिवेशनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्यलार्ई चयन भएकी छन् । चेम्बरको विधिवत् रूपमा सम्पन्न प्रथम पदस्थापना तथा शपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्य समितिको गठन भएको हो ।
घोराही चेम्बर अफ कमर्सकी अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भावना रहेकोले उत्पादनमा वृद्धि र सम्वर्द्धनका लागि अघि बढ्नुपर्ने बताएका छन् ।
उनले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशीय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले दाङमा उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशंसनीय रहेको जनाए । उनले अब अण्डाको उत्पादनलाई बढावा दिँदै आयात शुन्य बिन्दुमा झार्न दाङमा कुखुरा फार्ममा अझै बढवा हुनुपर्ने बताए । उनले धार्मिक तथा साँस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार विकास गर्न सकिने पर्याप्त संभावना रहेकाे औंल्याए। साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स द्रुत रुपमा अघि बढ्नुपर्नेमा मल्लकाे जाेड छ।
दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गर्दै उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउनु पर्ने बताए। जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै उनले बैदेशिक निर्यातमा दाङका सिमेन्ट एक नम्बर हुनुपर्ने समेत उल्लेख गरे। उनले व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चाका नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्र बहादुर महरा, तुलसीपुर चेम्बर अध्यक्ष टोपबहादुर घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय लगायतको उपस्थिति रहेकाे थियो ।



लाेकपाटी न्यूज
