काठमाडौं, २२ भदौ। जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेकी नायिका शिल्पा पोखरेलले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। शिल्पाले उत्प्रेषणको मागसहित दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।
उच्च अदालत पाटनले पक्राउ गरेर कारबाही अघि बढाउन जिल्ला अदालतले गरेको आदेशविरुद्ध नायिका शिल्पा पोखरेलले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। यसअघि उनले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।
साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो। त्यसपछि उनी सर्वोच्चमा पुगेकी थिइन्।
गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन्। त्यसलगतै काठमाडौं जिल्ला अदालतले शिल्पा र छविलाई पक्राउ गर्न आदेश गरेको थियो।



लाेकपाटी न्यूज
