तालिबानसँगको शान्ति सम्झौता ट्रम्पद्वारा रद्द, अब के हुन्छ ?

Trump pic
लाेकपाटी न्यूज

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्। शृङ्खलाबद्ध ट्वीटमा उनले आइतवार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्।

काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्। तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए।

प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो। यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए। अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना छन्।

बिहीवार तालिबानले जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको राष्ट्रपति ट्रम्पले बताए। उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो नेतृत्वको मिसनमा सेवा गरिरहेका रोमानियाका एकजना सेना पनि उक्त हमलामा मारिएका थिए।

उक्त हमलाले तालिबानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारणको मारिने सङ्ख्याको अन्त्य नहुने देखाएको आशङ्का गरिएको छ। सन् २००१ मा अमेरिकी आक्रमणपछि अहिले तालिबानले सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन्।

उनीहरूले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्दै उनीहरूसँग वार्ता गर्न अस्वीकार गर्दै आएका छन्। अमेरिका र तालिबानका प्रतिनिधिहरूबीच कतारमा नौ चरणमा शान्ति वार्ता भइसकेको छ।

अमेरिकाले आफ्नो सैनिक फिर्ता गरेबापत तालिबानले अमेरिका र उसका साझेदारमाथि हमला गर्न अफगानिस्तानलाई आधार क्षेत्रका रुपमा प्रयोग नगर्ने सुनिश्चितता गर्नुपर्ने थियो। अफगानिस्तानमा केहीले यो सम्झौताले स्वतन्त्रतामा आँच आउने भनी आशङ्का व्यक्त गरेका थिए।

तालिबानले सन् १९९६ देखि २००१ सम्मको आफ्नो शासनका बेला महिलाहरूलाई निर्मम तरिकाले व्यवहार गर्थ्यो र धर्मसम्बन्धी कडा कानून लगाएको थियो।

सन् २००१ मा भएको आक्रमणयता अफगानिस्तानमा अन्तर्राष्ट्रिय गठबन्धन फौजका झण्डै ३५ सय सदस्य मारिएका छन् भने ती मध्ये २३ सयभन्दा बढी अमेरिकी छन्। अफगानिस्तानका सर्वसाधारण, लडाकु र सरकारी फौज कति मारिए भन्ने यकिन गर्न निकै कठिन छ।

सन् २०१९ को फेब्रुअरीको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले ३२ हजार भन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो। ब्राउन युनिभर्सिटीस्थित वाट्सन इन्स्टिट्यूटले ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विपक्षी लडाकुहरू मारिएको जनाएको छ। -बीबीसी