काठमाडौँ, २१ भदौ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन्।
समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए।
‘दलित समुदायको अधिकार प्राप्तिका बारेमा निराशाजनक अवस्था छैन, विभिन्न सङ्घर्ष र आन्दोलनबाट केही अधिकार प्राप्त भएको छ, तर ती अधिकार गुम्ने खतरा बढ्दै गएको छ, त्यसको रक्षाका लागि जागरुक हुनुपर्ने आवश्यकता छ’, मन्त्री विश्वकर्माले भने। उनले मुलुकको समृद्धि र सुशासनका लागि दलित सुमदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अपरिहार्य भएको बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले परिवर्तनका लागि मुख्य विषय राजनीति भएकाले दलित समुदायले भोग्दै आएका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै कार्यान्वयनमा जोड दिए। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए। सांसद रामप्रित पासवानले समानताका लागि लडाइँ लड्न जरुरी रहेको बताए।
सोही अवसरमा पत्रकार मेघराज रसाइलीद्वारा लिखित ‘आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो। वार्षिकोत्सवको अवसरमा फाउण्डेशनले संविधान, सङ्घीयता र प्रतिनिधित्व, सीमान्तकृत समुदाय र सामाजिक न्याय, दलित नेतृत्वः अबको बाटोलगायतका विषयमा छलफल सञ्चालन गर्ने छ।



रासस न्यूज

