चौतारा, २० भदौ। नेकपाका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनामा देखिएको स्थानीय अवरोध आफूहरुले हटाउने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले उक्त कुरा बताएका हुन्।
चौतारामा आयोजित खुल्ला दिसामुक्त जिल्ला घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले भने, ’हामीले मेलम्ची काठमाडौंलाई अन्माउन तयार छौं। हामीले सिङ्गो काठमाडौंको मुहार फेर्न चाहन्छौं, स्वस्थ र सफा काठमाडौं बनाउन चाहन्छौं। स्थानीय स्तरमा केही अवरोध देखिएको छ, त्यही बहानामा आयोजना रोक्न दिन्नौं, स्थानीय अवरोध हामी हटाउँछौं।’
’मेलम्ची आयोजना कृष्णप्रसाद भट्टराईका पालादेखिको पूरानो आयोजना हो’ पूर्वमन्त्री तामाङले भने, ’मेलम्ची मात्र होइन, याङ्ग्री र लार्की पनि हामी काठमाडौंलाई अन्माउन तयार छौं। कुनै पनि बहानामा आयोजनाको काम रोक्ने काम गर्नु हुँदैन। मेलम्ची देशकै गौरवपूर्ण आयोजना हो, त्यो अवसर हामीले गुम्न दिँदैनौं।’ पूर्वमन्त्री तामाङले सिन्धुपाल्चोकमा खानेपानी समस्या समाधानमा ध्यान दिन आग्रह गरे।



लाेकपाटी न्यूज

