काठमाडौं, २० भदौ। सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।
अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका हुन्। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा बुधबार पूरा भएको थियो। ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो।
यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो। प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ। बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।
उपचारकै क्रममा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक चलाएका थिए।



लाेकपाटी न्यूज

