चितवन, १९ भदौ। व्यवसायी बीचको टकराबले पोल्ट्री (कुखुरा) व्यवसाय क्षेत्र संकटमा परेको व्यवसायीहरुले औंल्याएका छन्। कृषि क्षेत्रको एकमात्र आत्मनिर्भर पोल्ट्री (कुखुरा) व्यवसाय क्षेत्र संकटमा परेको बताएका हुन्।
यसको विकासमा एकजुट नहुँदा नै अहिलेको विकराल अवस्था आएको भन्दै एकजुट हुनुको विकल्प नरहेको बताए। नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको नवलपुरको प्रिपरहर होमस्टेमा सम्पन्न ९ औँ केन्द्रीय साधारण सभामा बोल्ने पोल्ट्री क्षेत्रकै अगुवाहरुले व्यवसायिक हितमा अब पनि एकजुट नभए पोल्ट्री क्षेत्र अप्ठ्यारोमा पर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेलले पोल्ट्री क्षेत्रलाई बचाउन व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा एवं स्वदेशउन्मुख उत्पादन र प्रयोगमा जोड दिँदै अगाडि बढ्नुपर्ने बताए। ‘हामीबीच नै एकता छैन’ उनले भने, ‘अनि पोल्ट्री क्षेत्रमा समस्या नआए कहाँ आउँछ ?’
कार्यक्रमका प्रमूख अतिथि समेत रहेका पौडेलले सीमापारमा हुने पोल्ट्रीजन्य कारोबारमा कडाई गर्न राज्यले कडा नीति बनाउन माग पनि गरे। कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष रामकृष्ण अर्यालले कुखुराजन्य उत्पादनमा नयाँ पोल्ट्री नीतिसहित आवश्यक भएको बताए।
यस्तै कार्यक्रममा नेपाल ह्याचरी महासंघका अध्यक्ष ज्ञानबहादुर विसुरालले पोल्ट्री क्षेत्रका संघसंस्थामा नेतृत्व गर्दा आफू हुँदा ठीक र अरु हुँदा बेठीक भन्ने परम्पराले पनि समस्या ल्याएको बताए। उनले साना र ठूला नभनिकन व्यवसायिक हितमा अघि बढ्नुपर्नेमा जोड दिए।
यस्तै नेपाल दाना उद्योग संघका अध्यक्ष बालचन्द्र खनालले हिजो इतिहासलाई हेर्दै वैज्ञानिक पद्धित अनुसार पोल्ट्री क्षेत्रमा सुधारमा आवश्यक रहेको तर्क गरे। उनले व्यवसायिक हकहितका सवालमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
यस्तै संघका संस्थापक अध्यक्ष एवं अगुवा पोल्ट्री व्यवसायी भुवनलाल जोशीले आपसी सहयोग र सहकार्य अघि बढ्न कोही पनि हिच्किचाउन नहुने तर्क गरे। उनले जौविक सुरक्षाका लागि राज्यले कडाइ गर्न आवश्यक रहेको बताए।
नेपाल अण्डा उत्पादक संघका उपाध्यक्ष किरणभुषण ओलीले लागत अनुसारको मुल्य कायम गर्न पोल्ट्री क्षेत्रमा वैज्ञानिक नीति अवलम्बन गर्न जरुरी भएको बताए ।
यस्तै संघका बरिष्ठ उपाध्यक्ष मनोज रानाभाटले राहत लिने परम्परामा दुईतर्फी लिने नीति अन्त्य हुनुपर्ने माग राख्दै आफुलाई मन परेन् भनेर पोल्ट्री क्षेत्रमा संस्था जन्माउने क्रम रोक्र्न माग गरे।
संघका कार्यालय प्रमुख शिवप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव महेश्वर पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जनार्दन अधिकारी आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए।



लाेकपाटी न्यूज

