जनताको अपेक्षाअनुसार ‘एक्सन’मा नगए ‘रियाक्सन’ गर्छन् : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं, १९ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरे अर्कोले ‘रियाक्सन’ गर्ने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषय कार्यक्रममा प्रचण्डले जनअपेक्षा अनुसार काम नभए प्रतिक्रियावादीले रियाक्सन गर्ने र त्यो जनताको निमित्त निकै महँगो पर्ने बताए। ‘अब हामी राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरियो भने अर्कोले रियाक्सन गर्छ’ प्रचण्डले भने, ‘त्यो नेपाली जनताको निमित्त महंगो पर्न सक्छ।’

‘अहिले नै प्रतिक्रान्तिको अवस्था आयो, खतरा भइहाल्यो भन्न खोजेको होइन, तर हरेक क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहन्छ त्यसैले चनाखो रहनुपर्छ’ प्रचण्डले भने । देशमा भएको परिवर्तनमाथि प्रश्न उठाउनेहरु टाउको उठाउन खोजिरहेको भन्दै उनले सबै राजनीतिक दल र शक्तिहरु एक ठाउँमा उभिनु आवश्यक रहेको बताए।

‘जनतालाई विश्वासमा लिएर अघि बढ्न आवश्यक छ । संविधान कार्यान्वयको क्रममा देखा परेका समस्या समाधान गर्नका लागि’ प्रचण्डले भने‘ सत्ताच्यूत गरिएका केही मानिसले समाजमा फैलाउन खोजेका भ्रमका बारेमा हामीले बाल्नु पर्छ भनेर हामीले केही पहिला सर्बदलीय बैठक समेत राख्र्यौ र यसमा हामी एक ठाउँमा छौं भन्ने सन्देश दिएका छौं।’ प्रचण्डले विकास निर्माण, संविधान कार्यान्वय लगायतका काम छिटोभन्दा छिटो गर्दै अघि बढ्नुपर्ने बताए।