काठमाडौंमा पुग्यो ३० ट्रक सैन्य सहयोग

Sena_Nepal_Army
लाेकपाटी न्यूज

काठमाडौं, १८ भदौ। चीनको सैन्य सामग्री सहयोग काठमाडौंमा पुगेको छ। केरुङबाट नेपाली सेनाका ट्रकमा लोड गरेर ल्याइएको सैन्य सामग्री शनिवार साँझ काठमाडौं पुगेको सैनिक स्रोतले जानकारी दिएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापा गत असारमा चीन भ्रमणमा रहेका बेला सैन्य सामग्री सहयोगसम्बन्धी सम्झौता भएको थियो। सम्झौता अनुसार चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्ने छ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत १५ करोड युआन बराबरका सामग्री तथा सवारी साधन प्रदान गर्ने बताइएको थियो। सम्झौताबमोजिम ३० ट्रक सहायता सामाग्री केरुङ हुँदै काठमाडौं पुगेको हो। स्रोतका अनुसार हेवि मेकानिकल व्रिज, एक्सप्लोसिभ ओर्डेनेन्श डिसपोजल, इन्जिनियरिङ्ग सामाग्री र रेसक्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त भएको बताइएको छ।

प्रधानसेनापति थापाले चीन भ्रमणमा रहेदा चीनको केन्द्रीय सैन्य परिषदका सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता भएको थियो। चीन र नेपालबीच पछिल्लो समय सैनिक सम्बन्ध समुधुर हुँदै गएको बताइन्छ। नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास गत बुधबारबाट काठमाडौंमा सुरु भएको छ।

सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ नामाकरण गरिएको उक्त अभ्यास भदौ २४ सम्म चल्ने सेनाले जनाएको छ। नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु भएको हो। उक्त अभ्यास भक्तपुरको नगरकोटमा समेत गर्ने सेनाको तयारी छ। सैन्य अभ्यासमा दुवै देशका महासेनानीको नेतृत्वमा २२ \२२ जना सहभागी छन्।

सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। दुवै देशका सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्