सुरक्षा घेरामा आइओएम, आन्दोलनरत मेडिकल विद्यार्थीसँग वार्ता गर्ने शिक्षा मन्त्रालयको तयारी

IOM_security
लाेकपाटी न्यूज

काठमाडौं, १८ भदौ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । मेडिकल विद्यार्थीको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए। आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाइए पछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुनः तालाबन्दीका लागि आइओएम पुगेका थिए।

आइओएममा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले आइओएमभित्र प्रवेश गर्न दिएको छैन। विद्यार्थीहरु आइओएमको प्रवेशद्वार बाहिर नाराबाजी गरिरहेका छन्। उनीहरुले आफूहरुको माग पूरा नभएसम्म एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौ २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन्।

यता सरकारले भने कुनै पनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षिक शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ। आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्।

उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षिक शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुँदे माग राखेका छन्। परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्