काठमाडौं, १७ भदौ। यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ खोल्न तयारी थालेको छ। दशैं आउन करिब एक महिना बाँकी हुँदा विभागले अग्रिम टिकट बुकिङ खोल्न सक्रियता देखाएको हो।
यातायात व्यवस्था विभागले दशैँमा टिकट अग्रिम बुकिङका बारेमा छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाएको छ। यसबारे विभागमा बुधबार छलफल हुने बताइएको छ। दशैं मनाउन काठमाडौं उपत्यकाबाट अन्य जिल्ला जाने यात्रुले कहिलेबाट अग्रिम टिकट बुकिङ गर्न पाउने भन्नेबारे यातायात व्यवसायीसँगको छलफलपछि टुङ्गो लाग्ने विभागले बताएको छ।
यद्यपी यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट टिकट अग्रिम बुकिङका लागि प्रस्ताव तयार पारेको बताइएको छ। दशैंको मौका छोपेर व्यवसायीले टिकट खोल्नका लागि भाडा वृद्धिको सर्त राखे त्यो मान्य नहुने विभागले स्पष्ट पारेको छ।
सार्वजनिक यातायातमा व्यवसायीको एकाधिकार (सिन्डिकेट) तोडिएका कारण यस वर्षको दशैंमा यात्रुले दुःख नपाउने विभागको दाबी छ।



लाेकपाटी न्यूज
