काठमाडौँ, १७ भदौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिकवादलाई अध्यात्मवादसँग जोडन नसकेसम्म शान्ति प्राप्त हुन नसक्ने बताएका छन्। पशुपतिनाथ मन्दिर परिसरमा रहेको नवनिर्मित पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा उनले शान्ति र स्थिरताका लागि भौतिक विकासलाई आध्यात्मिकतासँग जोडन आवश्यक रहेको बताएका हुन।
२१ औ शताब्दीसम्म आइपुग्दा यति धेरै वैज्ञानिक आविष्कारहरू भएका छन्। तर मानिसहरूको समाज चाहिँ दिन प्रतिदिन झन् समस्या ग्रस्त बन्दै गएको देखिन्छ। त्यसले मानिसहरूका समस्याहरूलाई समाधान गरेर मानिस मानिसहरूका बीचमा आत्मीयता, मानवीय भावना, एउटा नयाँ मनोविज्ञान, शान्ति र स्थिरता दिन सकेको देखिएको छैन।
भौतिकवाद वा भौतिक विकाससँग हाम्रो नेपाली समाजको, हाम्रो इतिहासको, हाम्रो पौराणिक कालको, मानवीय संवेदनाको पक्ष, आध्यात्मिकताक पक्षलाई जोडेन भने भौतिकवादले मात्र मानिसलाई शान्ति दिँदो रहेन छ। मान्छेलाई कुनै अमन चयन दिँदो रहेन छ भन्ने कुरा विश्वव्यापी देखिएको छ। त्यस कारण अनुभवले के सिकाएको छ भने भौतिक विकासको साथ साथै मानिसहरूको बीचमा सद्भाव, प्रेम, उच्च आदर्शको निम्ति समर्पित हुने भावना र त्यस्तो सोचको विकास अपरिहार्य रहेछ।
‘अहिले पश्चिमी देशका विद्वान पूर्वीय दर्शन तिर फर्किन खोजेको जस्तो देखिएको, पूर्वीय दर्शन, संस्कृति तथा हाम्रो परम्परामा मानवियताको खोजी गर्न थालेको हामी प्रशस्त उदाहरणहरू पाउँछौ। त्यो विकासले उनीहरूलाई शान्ति र चयन दिन सकेन। झन् बढी मानिसहरूमा बेचैनी, अराजकता, विसङ्गति र थुप्रैखालका विकृतिहरू देखायो। त्यस कारण पूर्वीय दर्शनको अध्ययन गर्ने र पूर्वीय दर्शनबाट केही सिक्ने एउटा प्रक्रिया पनि अघि आएको छ।’
‘हामी नेपाली त त्यसको लागि भाग्यशाली छौँ। हाम्रो देशमा यस्ता परम्पराहरू प्रशस्त मात्रामा रहेका छन्। जसमा हामी गर्व गर्न सक्छौँ। किन कि नेपालमा भौगोलिक रूपले, प्राकृतिकरुपले, सांस्कृतिक रूपले, इतिहास र परम्पराका रूपले पनि असाध्यै वैभवशाली हाम्रो देश हो। यति धेरै वैभव यति सानो ठाउँमा संसारमा केही पनि भेटिँदैन।’
‘यति धेरै शक्ति पीठहरु भएको, यति धेरै आध्यात्मिक चिन्तन गर्ने गरिएको महादेव शिव पार्वतीदेखि लिएर जनकपुरमा जानकी र जनकदेखि आधुनिक कालमा गौतम बुद्धसम्म हेर्यो भने चिन्तनका दृष्टिले नेपाल संसारकै अग्रणी देशभित्र पर्दछ।’



लाेकपाटी न्यूज

