काङ्ग्रेसले शुरु गर्‍यो समायोजन

congress
रासस न्यूज

चितवन, १७ भदौ। केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ। सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन भएका छन्। यस अघि जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेको थियो। त्यतिबेला निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु समायोजनका क्रममा आफ्नो क्षेत्रअनुसार स्वतः समितिमा रहने व्यवस्था रहेको छ।

सभापति श्रेष्ठका अनुसार ६ वटै प्रदेश कार्यसमिति निर्माणका लागि भदौ १८ , १९ र २० गते क्षेत्रीय समितिको भेला डाकिएको छ। त्यसलगत्तै भरतपुर महानगरपालिका, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको समायोजनको काम शुरु हुने उनले जानकारी दिए।

जिल्लाका तीन नगरपालिका माडी, रत्ननगर र खैरहनी बाहेक अन्य सबै तहमा समायोजन गर्नुपर्ने हुन्छ। असोज महीनाभित्रमा दुई वा त्यो भन्दा बढी वडा समायोजन भएका वडाको नेतृत्व चयन गर्ने काम गरिने जनाइएको छ।

चितवनमा समायोजनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा डेमोक्रय्याटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष विष्णु अर्याललाई तोकिएको छ। निर्वाचनको समयमा पाँचवटा क्षेत्रलाई तीनवटा क्षेत्रमा समायोजन गरिएसँगै त्यसअघि बनेको नेपाली काङ्ग्रेसको समितिहरुलाई समायोजन गरिएको हो।