काठमाडौं, १७ भदौ। गाडी खरिदबारे छानबिन गर्न गठित संसदीय समितिले सभामुख कृष्णबहादुर महारालाई प्रतिवेदन बुझाएको छ। समितिले आज आर्थिक अनियमतिता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुखलाई बुझाएको हो।
तर समितिले संघीय संसदले खरिद गरेको सबै गाडीमा कमजोरी देखिएको बताएको छ। संघीय संसदका विभिन्न समितिका सभापतिका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छानबिन समिति संयोजक रामनारायण विडारीले बताएका छन्।
‘मान्यतया सबै गाडीमा कुनै न कुनै कमजोरी देखिएको छ, ३/४ वटामा अलि बढी समस्या देखियो। एउटामा गियरमा समस्या देखियो। एउटामा छतमा समस्या देखियो, गाडीको बडी बिकल्डिङ गर्दा लापरबाही गरेको पाइयो। स्टिकर र डोर भाइजर पनि कम गुणस्तरको देखियो,’ उनले भने।
संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति बनाएका थिए। उनले साउन २७ गते १५ दिनको समय दिएर बिडारीको संयोजत्वमा छानबिन समिति गठन गरेका थिए।
छानबिन समितिका सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छिन्।
समितिले खरिदसँग सम्बन्धित सम्पूर्ण कागजातबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहसचिव झिकाएर अध्ययन गरेको थियो। त्यस्तै प्राविधिक पक्षबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिक सहसचिवलाई जिम्मा दिएको थियो। संसद सचिवालयले प्रति गाडी ५५ लाख रुपैयाँमा महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद गरिएका थियो।



लाेकपाटी न्यूज

