नेवि संघको खबरदारी : ‘विश्वविद्यालयमा भागबण्डा अन्त्य हुनुपर्छ’

लाेकपाटी न्यूज

काठमाडौं, १५ भदाै। विश्वविद्यालयमा भागबण्डा अन्त्य हुनुपर्ने भन्दै नेवि संघले खबरदारी गरेकाे छ। दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडा भएको भन्दै नेवि संघले खबरदारी र्‍याली निकालेको हाे।

हजारौंको संख्यामा नेवि संघ आबद्ध विद्यार्थीहरुले माइतिघर मण्डलाबाट बानेश्वरसम्म र्‍याली निकालेका हुन्। कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले र्‍याली पछिको कोण सभालाई सम्बोधन गर्दै नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबण्डा नरोकिए नेवि संघ कडा संघर्षमा उत्रने चेतावनी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले नेवि संघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाइने चेतावनी दिए। काफ्लेले पार्टी भित्र पनि नैतिकता र विधानको पालना नभए विद्रोह गर्ने चेतावनी समेत दिए।

कार्यक्रमलाई नेवि संघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डेले सम्बोधन गरेको जानकारी दिँदै नेवि संघ नेता मनिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म कार्यक्रम चरणवद्ध रुपमा अगाडि बढ्ने जानकारी दिए। कार्यक्रममा नेवि संघ नेता निमा गिरी, गोपी शिवाकोटी, बिपिन अधिकारी, सुदिप शर्मा, हरि आचार्यलगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेकाे थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्