स्याङ्जा, १५ भाद्र। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुण्डागर्दी गर्दै हिँड्ने विकासका बाधकलाई सरकारले निस्तेज पार्ने चेतावनी दिएकी छन्। उनले अब काम नगर्ने ठेकेदारका दिन समाप्त भएको समेत दाबी गरिन्।
‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन्। सार्वजनिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ सरकारले अगाडि बढेको छ,’ मन्त्री अर्यालले भनिन्। उनले विकासका लागी जनप्रतिनिधि साझा व्यक्ति भएको समेत बताइन्।
अर्को प्रसंगमा मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन्। पछिल्ला समय सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीतर्फ सङ्केत गर्दै उनले हरेकको मूल्याङ्कन जनताले गर्ने बताइन्। उपकार बचत तथा ऋण सहकारी संस्था वालिङले स्याङ्जामा आयोजित चौथो खुल्ला तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकार जनताको सकारात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढेको बताइन्। सरकार जनअपेक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरिन्।
सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्ट्याइने योजना रहेको उनले सुनाइन्। ‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमिस्टेहरुको परिचालन गर्ने हो,’ मन्त्री अर्यालले भनिन्, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस्, मूल्याङ्कन गर्नुस् परिवर्तन र बदलाव आफै देख्नुहुन्छ।’



लाेकपाटी न्यूज

