मानिस कुन उमेरमा पुगेपछि वयश्क हुन्छ ?

Adult_people
लाेकपाटी न्यूज

बीबीसी । बीसको उमेरमा प्रवेश गरिसकेपछि पनि अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने भनाइ सुन्नु परिरहेको हुन्छ। यसरी वैज्ञानिकहरुले पहिलोपटक किन २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका हुन्।

मस्तिष्क सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरुका अनुसार तीसको उमेरमा प्रवेश नगरुन्जेल मानिस पूर्ण रुपमा वयश्क हुन सक्दैन। तर अधिकांश राष्ट्रहरुमा १८ वर्षकै उमेरमा मानिस वयश्क हुने उल्लेख गरिएको छ र १८ पुगेपछि नै हामीले चुनावमा भोट हाल्न, मदिरा खरिद गर्न पाउछौँ भने पुलिससँग झमेलामा परेमा पनि हामीसँग वयश्क जस्तै व्यवहार गरिन्छ।

यस्तोमा अक्सफोर्डमा चिकित्सा विज्ञान एकेडेमीद्वारा आयोजित स्नायु विज्ञान बैठकमा सहभागी विशेषज्ञ मध्ये क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले प्रत्येक व्यक्ति छुट्टाछुट्टै उमेरमा वयश्क हुने दाबी गरेका हुन्। १८ वर्ष कटिसकेपछि पनि मान्छेको मस्तिष्कमा विभिन्न परिवर्तनहरु आइरहने हुँदा यसले उनीहरुको व्यवहारमा पनि प्रभाव पार्ने गरेको, जसकारण तिनको दिमाग वयश्क जसरी पूर्ण रुपमा विकसित नहुने जोनसले बताए।

‘हामीले के भन्न चाहेका हौँ भने बाल्यकालबाट वयश्कतामा प्रवेश गर्दा हामीले यसबारे अहिलेसम्म सुन्दै आएका सबै परिभाषा हास्यास्पद छन्। किनकी वास्तवमा त्यो क्षण अत्यन्तै जटिल हुन्छ। जसकारण हामीलाई त्यो चरणमा पुग्न तीन दशक लाग्छ,’ उनी भन्छन्, ‘मेरो अनुमानमा शिक्षा, स्वास्थ्य र कानुनमा वयश्कताको १८ वर्षे परिभाषा दिनुले यी प्रणालीलाई सहज बनाइदिएको छ। त्यसैले नै सबैमा यही मान्यता व्यापक बनेको हो। तर वास्तवमा मानिस बाल्यकालपछि सिधै वयश्कतामा प्रवेश नगरेर बीचको मार्गमा पनि लामो समयसम्म हिँडिरहेको हुन्छ।’

यसकारण नै अनुभवि अपराधिक न्यायकर्ताले एक १९ वर्षे अभियुक्त र तीस वर्ष कटिसकेका एक गम्भीर अपराधीबीचको फरक सहजै पहिचान गर्न सक्ने उनले बताए। उनका अनुसार जसरी मानिसहरुलाई पुतली झुसुलेकिराबाट बन्छ भन्ने कुरामा चित्त बुझाउन मन लाग्दैन त्यसरी नै समाजले अनपेक्षित सत्य लुकाउने प्रयास अर्न्तगत यस्तो मान्यता अपनाएको बीबीसीले जनाएको छ।