अनेरास्ववियुको साझा कार्यालय उद्घाटन, एकताका बाँकी काम चाँडै सक्ने

लाेकपाटी न्यूज

काठमाडाैं, १२ भदाै। नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्यले विद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन् ।

अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै विद्यार्थी मोर्चाको इन्चार्जसमेत रहेका नेता शाक्यले विद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सक्ने बताए । पार्टी एकीकरण पछि पनि अलग–अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय आजबाट एउटै भएकाे छ । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरस्वियुको कार्यालय हुने भएको छ ।

बिहीबार भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पदभार ग्रहण पनि गरेका छन् । कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए ।

पदभार ग्रहणपछि संयोजक महर र सहसंयोजक तामाङले एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए । साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालिन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकारीका पूर्वअध्यक्षहरु पनि सहभागी थिए ।