सिन्धुपाल्चोक, ११ भदौ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहारा वितरण कार्यक्रम शुरु गरिएको छ। मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरिएो हो। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको छ।
सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहारा प्रदान गरेका हुन्। मङ्गलबार बलेफी गाउँपालिका ८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ। वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका हुन्। उनीहरुलाई एकरएक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए। गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए। सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो। वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए।



रासस न्यूज

