चितवन, १० भदौ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा भएका तीनै जना सोमबार रिहा भएका छन्। जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, युवराज कंडेल ३ लाख र अस्मिता कार्की विना धरौटी रिहा भएकी छिन्।
रवि लामिछानेले आफू राजनीतिमा आउने संकेत गरेका छन्। मंगलबार चितवनमा भएको पत्रकार भेटघाटमा रविलाई देशको उच्च (प्रधानमन्त्री) जस्तो पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले संकेत देखाएका हुन्। उनले राजनीतिमा जानका लागि आफूले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताएका छन्।
उनले अहिले तत्काल राजनीतिमा आँउनेभन्दा पनि अहिले भएका नेताहरु र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा आफू भएको बताए। उनले जनताको भोट लिएर आएका नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेभन्दै आफूले सञ्चारक्षेत्रबाट त्यो काम गर्ने बताएका छन्। आफू अझै थप बलियो भएर आउँने बताएका छन् । आफू पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न उनले माग गरेका छन्।
आजको दिनमा आफू सत्य, तथ्य र निष्पक्ष बाटोमा भएको भन्दै कसैसँग व्यक्तिगत रिसीबी नभएको दावी गरे। आज नै २ बजे रविले नारायणी किनारमा धन्यवाद सभा गर्ने जानकारी दिइएको छ।



लाेकपाटी न्यूज
