भरतपुर, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाकी प्रतिवादी अस्मिता भनिने रुकु कार्कीले प्रहरीसामु दिएको बयानमा आफूलाई दुःख दिएका शालिकराम पुडासैनीले पिछा गर्न छोड्ने आशाले सिधा कुरा जनतासँगको सम्पर्कमा गएको बताएकी छन् ।
रुकुले पहिलेदेखि नै शालिकरामसँग प्रेममा रहेको र पुडासैनीको मृत्यु हुनुभन्दा ७–८ दिनअघि उनको घरमा श्रीमती भएको थाहा पाएपछि आफूले गाली गरेको बताएकी छन् । त्यति गर्दा पनि पिछा गर्न नछोडेको र बाटो छेक्ने र विष खाएर मरिदिन्छु भन्दै धम्क्याउने गर्न थालेपछि सिधा कुरा गएर पिछा छुटाउने प्रयास गरेको उनले बताएकी छन् ।
सो क्रममा उनले सिधा कुराका क्यामेरामेन अनिल ढुंगेललाई पुडासैनीसँग आफूले गरेको कुराकानीको स्क्रीनसट दिएको र न्यूज ट्वान्टी फोरको कार्यालयअघि उभिएको फोटो पुडासैनीलाई पठाएको उल्लेख गरेकी छन् ।
पछि ढुंगेलले ती सबै कुरा रवि लामिछाने र युवराज कँडेलसमेतलाई भनेको र फोन गरी पुडासैनीसँग पनि कुरा गरेको भनी आफूलाई सुनाएको रुकुले दावी गरेकी छन् ।



लाेकपाटी न्यूज

