काठमाडौ, ९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्यसमेतले शीर्ष नेताहरुको सामाजिक सञ्जालमार्फत् आलोचना गरेको पाइएपछि यस्तो निर्णय गरेको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेताको सार्वजनिक रुपमा आलोचना गर्न नपाइने तर पार्टीभित्र असन्तुष्टि राख्न पाइने बताए। यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा टिप्पणी गरे स्पष्टिकरण साध्ने र कारबाही गर्ने निर्णय भएको उनले बताए।
‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’’ बैठकपछि श्रेष्ठले भने, ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ।’
यस्तै आज बसेको सचिवालय बैठकले नेकपाले चारजना केन्द्रीय सदस्य थप गरेको छ। थप भएका केन्द्रीय सदस्यमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहेका छन्। नेकपाको विधानअनुसार १० प्रतिशत केन्द्रीय सदस्य थप गर्न पाइनेछ।



लाेकपाटी न्यूज

