प्रधानमन्त्रीका निजी चिकित्सक भन्छन्, प्रधानमन्त्रीको उपचार अझै १० दिन हुनसक्छ’

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, ९ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत बिहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको हो।

प्रधानमन्त्री ओलीका साथ सिंगापुर गएका निजी चिकित्सक डा. दिव्या सिंह शाहले उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन्। ‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु थालिएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”,उनले भने।

उनले प्रधानमन्त्री ओलीको उपचार अझै १० दिनसम्म हुनसक्ने जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ। यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए। केही दिनअघि रगतमा एण्टीवडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन्।