नवलपरासी, ८ भदौ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पश्चिम नवलपरासीको सुनवल ४ मा विश्वकै अग्लो दाबी गरिएको कृष्ण मूर्ति रहेको कृष्णधाममा भाद्र १ गते देखि सञ्चालित सप्ताहाव्यापी भागवत महापुराण एवम् सप्ताहाज्ञान महायज्ञ शनिवार भव्य रूपमा सम्पन्न भएको छ।
समापन कार्यक्रम महायज्ञ तथा मेला आयोजक समिति का अध्यक्ष वालकृष्ण पंगेनीको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समापन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्याल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवीहरू साथै भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
महायज्ञमा दैनिक रूपमा दिनदयाल महाराज ज्युको संरक्षकत्वमा प्रखर वाचक युवा व्यास पं प्रकाश तिवारीको सङ्गीतमय श्रीमद्भागवत वाचन तथा भजन गायक नारायण गौतमको संयोजकत्वमा भजन कृतन रहेको थियो। यसै गरी दैनिक पूजापाठ, श्रीकृष्ण भगवानको विग्रह पूजा, कन्या पूजन, गौ पूजन, पुराण वाचन , झाकि प्रदर्शन , रात्रिकालीन भजन, आरती लागाएकतका कार्यक्रमहरू समेत गरिएको मेला आयोजक समितिका सचिव जगत् पौडेलले बताए।
स्वेछिक दान दाताहरूबाट महायज्ञमा अनुमानित १४ लाख रुपैयाँ सङ्कलन भएको मेलाका आर्थिक तथा अतिथि सत्कार संयोजक कृष्ण प्रसाद लामिछानेले बताए। महायज्ञमा स्वेछिक दानदाताहरुलाई सम्मान समेत गरिएको प्रचार प्रसार संयोजक खड्का बस्नेतले बताए।
दामोदर स्वरूप विश्कै अग्लो कृष्ण मूर्ति रहेको कृष्ण धाम सुनवलमा आगामी वर्षहरूमा अझै व्यापक बनाइने र सुनवलकै अर्को धार्मिक स्थल बाबा वर्दगोरियासँगको सम्बन्धलाई जोड्दै अघि बढ्ने योजना रहेको कृष्ण मूर्ति निर्माण समितिका अध्यक्ष उमाकान्त उपाध्यायले बताए।



लाेकपाटी न्यूज
