कानून नै त्रुटिपूर्ण छ, मरेका सबै मान्छेले साँचाे बाेलेका हुँदैनन्

dipak
लाेकपाटी न्यूज

काठमाडौं, ७ भदाै। कलाकारहरुले टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटना बारेको यथार्थ सार्वजनिक गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा सहभागी भएका दीपकराज गिरीले कानूनमा भएको त्रुटिकै कारण रवि लामिछाने पक्राउ परेको भन्दै रिहाइको माग गरेका छन्। उनले भने, ‘कानून नै त्रुटिपूर्ण छ। मरेका सबै मान्छेले यथार्थ गरेका हुँदैनन् । आपसी रिसईबीका कारण आत्महत्या गर्लान् अनि बाँचेकाले सास्ती भोग्नुपर्ने भयो । म भन्छु आत्महत्या पनि अपराध हो । अहिलेको कानूनमा सुधार गर्न जरुरी छ । मर्ने व्यक्तिले सबै सही गर्छन् भन्ने पनि छैन नि । आत्महत्याका कारण प्रताडना खेप्ने म पनि हुँ । मलाई थाहा छ नि कति पीँडा हुन्छ ।’

गिरीले आफूले भोगेको पीँडालाई सार्वजनिक गर्दै भने, ‘चलचित्रको कपिराइटका कारण कृष्ण भाइले आत्महत्या गर्दा मैँले पनि समस्या भोगेको थिएँ । मर्ने व्यक्ति बाँच्नका लागि संघर्ष गर्न नसकेर मर्ने हुन् । दुःख पीडासँग जुध्न नसकेर मर्ने हुन् । कानूनी राज्य, सरकार र न्यायप्रति विश्वास गुमेर मानिसहरु सडकमा उत्रिएका हुन् ।’ उनले रवि बारे चाँडो फैसला हुनुपर्ने  बताए। उनले भने, ‘रवि जीको सन्दर्भमा उहाँ दोषी भए सजाय भोग्नुपर्छ निर्दोष भए रिहा हुनुपर्यो । अनि उहाँले प्रहरीलाई सहयोग गर्छु भन्दाभन्दै किन पक्राउ गरेको प्रहरीले ?’

त्यस्तै नायक निखिल उप्रेतीले राजनीतिका कारण देश बिग्रिएको आरोप लगाए । उनले भने, ‘यो देश राजनीतिले बिगारेको छ। आज राजनीतिक रंग नलागेको मान्छे, पावर, पहुँच नपुगेको मान्छेले न्याय पाउन सक्दैन । अहिले भएको यही हो । जबसम्म राजनीतिले गाँजिरहन्छ अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नेहरुलाई समस्या आइरहन्छ ।’

त्यस्तै कलाकार निर्मल शर्माले पनि घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै रवि निर्दोष भएकाले प्रहरी हिरासतमा राख्न नपाइने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्