यी हुन् विश्वका प्रमूख संशोधनवादी नेता

Nikita Krushchev Russia
लाेकपाटी न्यूज

विचारधारा वैज्ञानिकता निरुपणको प्रश्न निकै जटिल र कष्टसाध्य प्रश्न हो। मार्क्सवादी सिद्धान्तलाई वस्तुगत धरातलमा उभ्याएर व्यवहारिक प्रयोग गर्ने प्रश्न सैद्धान्तिक व्याख्याभन्दा कैयौं गुणा जटिल विषय पनि हो। मार्क्सवाद आफैमा गतिशील विज्ञान हो। विज्ञान हुनुका नाताले यसको प्रयोग पनि सिर्जनशील रुपमा हुँदै जान्छ। विश्वका कम्युनिष्ट आन्दोलन जति पनि बहसहरु भएका छन्, ती सबैमा वस्तुगत विशेषतालाई बुझ्नेबारे गहिरो मतभेद देखिन्छ।

मार्क्सवादी विज्ञानलाई कुन देशमा कसरी प्रयोग गर्न सकिन्छ ? यसको ठ्याक्कै गणितीय जवाफ छैन। तर, सर्वहारा वर्गको मुक्तिलाई केन्द्रमा राखेर समाजवाद हुँदै साम्यवादमा पुग्ने आधारभूत लक्ष्यबाट नभाग्ने पार्टी र नेतालाई कम्युनिष्ट मान्न सकिन्छ। विश्वका कुन नेता कम्युनिष्ट हुन्, कुन दक्षिणपन्थी सुधारवादी हुन् र कुन उग्रवामपन्थी हुन् भन्ने कुराको फैसला ऐतिहासिक प्रयोगबाट हुन्छ।

मार्क्सवादको उदयले विश्व मानव समाजमा ठूलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो। तर, मार्क्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, मार्क्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो, त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो।

संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गरेका छन्। मार्क्सवादमा संशोधनको प्रयास प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मले गरे। यहाँ त्यसबारे संक्षिप्त चर्चा गरिएको छ।

१. पिचेर जोसे प्रुधों (सन् १८०९-१८६५)

प्रुधोँ विख्यात पान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए। सुरूमा प्रुधोँ मार्क्सवादका कट्टर समर्थक थिए। मार्क्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो। प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए। पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा मार्क्सवादका प्रमुख आलोचक बने। मार्क्सवादमा अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए।

उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए। उनले साम्यवादलाई काल्पनिक मानेका छन्। प्रुधोँले मार्क्सवादलाई ‘गरीबको दर्शन’ भनेका छन्। मार्क्सले प्रुधोँको दर्शनलाई दर्शनको दरिद्रता भनी आलोचना गरेका थिए। प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक मानिन्छन्। अन्तिममा प्रुधोँ प्रतिक्रियावादी कित्तामा पुगे।

२. लुई ओग्युस्टिन ब्लाङ्की (सन् १८०५-१८८१)

ब्लाङ्की फ्रान्सीसी युरोपियन समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले सन् १८३० र १८४८ को फ्रान्सेली क्रान्तिमा भाग लिएका थिए। उनलाई दुईचोटी मृत्युदण्डको सजाय सुनाइएको थियो। उनको आधा जीवन जेलमा नै बितेको थियो। उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए।

उनले पूँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए। षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो। क्रान्तिकारी पार्टीीे नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनको विचारलाई षड्यन्त्रकारी विचार मानिन्छ।

ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो। यो मार्क्सवाद विरोधी विचारधारा हो। ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो। पेरिस कम्युनमा त उनको बहुमत थियो। मार्क्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिए।

ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो। यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्र्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महत्वलाई अस्वीकार गर्दथ्यो। यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो। ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको विश्लेषण गरिन्छ।

३. मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (सन् १८१४-१८७६)

बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए। उनले सन् १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए। युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए। बाकुनिनको दर्शनको मूख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मूख्य तत्व हो भन्ने रहेको छ।

उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए। उनले मार्क्स र एंगेल्सको विरोध मात्र गरेनन्, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए। सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कार्वाही गरेर निकाला गरिएको थियो।

४. फर्डिनाण्ड लासाल (सन् १८२५-१८६४)

फर्डिनाण्ड लासाल (सन् १८२५—१८६४) जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए। लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए अर्थात् मार्क्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए। उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे। उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो। लासालको विचारलाई लासालवाद भनिन्छ।

अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए। वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो। मार्क्स र एंगेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गरेका थिए।

५. एर्डवर्ड बर्नस्टिन (सन् १८५०-१९३२)

एर्डवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन्। सन् १८८९ मा एंगेल्सको नेतृत्वमा दोस्रो इन्टरनेशनलको स्थापना गरिएको थियो। सन् १८९५ मा एंगेल्सको मृत्यु भयो। सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए। ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा मार्क्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए।

फ्रेडरिक एंगेल्सको मृत्युपछि सन् १८९६ मा दोस्रो इन्टरनेशनलभित्र मार्क्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेश गर्ने पहिलो व्यक्ति एर्डवर्ग बर्नस्टिन हुन्। उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए। उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयं वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पूँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ।

दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए। यसैबाट नै क्रान्तिकारी मार्क्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो। लेनिनले रुसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्ने क्रममा लेनिनवादको प्रतिपादन गरेर मार्क्सवादको ज्ञानको भण्डारमा थप योगदान गरे।

५. जुलियस मार्ताेभ (सन् १८७३-१९२३)

जुलियस मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए। सन् १९०३ मा लेनिन र मार्तोभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो। लेनिनले कम्युनिस्ट पार्टी सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गरे। लेनिनले कम्युनिष्ट पार्टीको सदस्य कुनै एक संगठनमा बसेर काम गर्नैपर्ने प्रस्ताव पनि अघि सारे। तर, मार्तोभले यसको सोझै विरोध गरे।

पार्टी सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सारेको मान्यतालाई मार्तोभपन्थीहरूले अस्वीकार गरेका थिए। लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वलाई कम्युनिष्ट पार्टीका सदस्यको आधारभूत जिम्मेवारीका रुपमा व्याख्या गरे। तर, मार्ताेभपन्थीहरूले लेनिनले अघि सारेका सबै मान्यतालाई अस्वीकार गरेका थिए। लेनिन र मार्ताेभबीच भीषण दुईलाइन सङ्घर्ष चल्यो। त्यही मतभेदको कारण पार्टी विभाजन भयो, बोल्सेभिक र मेन्सेभिक पार्टीको जन्म भयो।

लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी गठन गरे। लेनिनको पार्टी कम्युनिष्ट पार्टी र मार्तोभको पार्टी सामाजिक जनवादी पार्टीका रुपमा चिन्न थालियो। लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीले सन् १९१७ मा रुसी अक्टोबर समाजवादी क्रान्तिको नेतृत्व गर्यो र क्रान्ति सफल भयो।

६. कार्ल काउत्स्की (सन् १८५४-१९३८)

कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए। सुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए। सन् १८८९ मा दोस्रो इन्टरनेशनलको गठन भएपछि सुरुमै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो। उनले सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसद वर्गस्वार्थदेखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए।

संसदीय जनवादको पक्षधर भएर उनले सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए। कार्ल काउत्स्की दोस्रो इन्टरनेशनलका नेता र मार्क्सवादी विरोधी थिए। सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए।

७. अलेक्सान्द्रा एत्येन मिलेराँ (सन् १८५९-१९४३)

अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सेली राजनीतिज्ञ थिए। १९ औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फ्रान्सेली समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए। उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए। उनी प्रतिक्रियावादी बर्जुवा सरकारमा सामेल भएका थिए।

सन् १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो। सन् १९२० देखि १९२४ सम्म उनी फ्रान्सेली गणराज्यका राष्ट्रपति समेत बनेका थिए। मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन्। उनी संशोधनवादी चिन्तक एवं राजनीतिज्ञको कोटीमा पर्दछन्।

८. निकिता ख्रुश्चोभ (सन् १८९४-१९७१)

सन् १९५३ मा रुसमा स्टालिनको निधन भयो। त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता र राष्ट्रपति बन्न पुगे। १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (र्बोल्सेभिक) को २० औँ महाधिवेशन आयोजना गरियो। त्यस महाधिवेशनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए। त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिका लागि शान्तिपूर्ण सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे।

उनले सम्पूर्ण जनताको पार्टी सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तलाई परित्याग गरिएको घोषणा गरे। ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादको प्रमूख सिद्धान्तका रुपमा स्थापित गरे। ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइयो।

त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो। रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेको बहसले विश्वका कम्युनिष्टहरुलाई २ धारामा बाँडिदियो। सन् १९९१ मा मिखाइल गोर्भाचोभको उदयसँगै सोभियत संघको विघटन भयो। त्यसपछि पूँजीवादी ध्रुवले मार्क्सवादको अन्त्य, एकध्रुवीय विश्वास र विचारधाराको अन्त्यको नारा अघि सार्यो।

९. ल्यू शाओ ची (सन् १८९८-१९६९)

ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए। उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेश गरेका थिए। माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सारेका थिए। माओले महान् छलाङ भन्ने कार्यक्रम अघि सारेपछि ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारे। त्यसपछि माओ र उनका बीच अन्तरविरोध सुरू भयो।

पार्टी आठौँ महाधिवेशनमा माओले समाजवादी बाटोको प्रस्ताव गरे। माओले भने, ‘क्रान्तिलाई पकड र उत्पादन बढाउ।’ ल्यू शाओ चीले माओको प्रस्तावको विरोध गरे। उनले भने, ‘बिरालो कालो होस् कि सेतो, यसको मूख्य काम मुसा मार्नु हो।’ ल्यू शाओचीका दृष्टिमा पूँजीवाद वा समाजवाद मूख्य होइन, जसले बढी आम्दानी दिन्छ, त्यही व्यवस्थामा जानुपर्छ। यो खुलेआम पूँजीवाद मान्यताको वकालत थियो।

समाजवादमा जाने कि पूँजीवादमै रहेन ? यो मतभेद उत्कर्षमा पुग्यो। समाजवादी कार्यक्रमको वकालत गरेकै कारण सन् १९५६ मा माओ अल्पमतमा पर्नुभयो। माओ र ल्यू शाओ चीबीच दुईलाइन सङ्घर्ष चल्यो। सन् १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ र्सवहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो। ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट निस्काशन गरियो।

१०. देङ शियाओ पिङ् (सन् १९०४-१९९७)

सन् १९६६–१९७६ को सांस्कृतिक क्रान्तिकालमा ल्यू शाओ चीसँगै देङलाई पनि पार्टीबाट बर्खास्त गरियो। चिनियाँ कम्युनिष्ट पार्टीको दशौँ महाधिवेशनपछि देङ शियाओ पिङको कार्वाही फुकुवा गरियो। सन् १९७६ मा माओको निधन भयो। माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए। माओको मृत्यु भएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो।

देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाए। उनले चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरे। माओको मृत्युपछि सांस्कृतिक क्रान्ति ढल्यो। सांस्कृतिक क्रान्तिको समर्थन गर्नेहरुलाई जेल हालियो। यसरी चिनियाँ कम्युनिष्ट पार्टीले पहिलोपटक खुल्ला बजार अर्थनीति अपनायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्