– शैलेन्द्र घिमिरे
प्रिय रवि जी ! ! ! चितवनमा एकले जित्ने छ, अर्कोले हार्नेछ। जो सुकै जितोस् मानवियताले हार्ने यो अभूतपूर्व डिजाइन सायद साना मस्तिष्कले आज्र्याको होइन। यो संयोग वा नियोजित जे भए पनि हुनुपर्ने वा पुर्वनिर्धारित जीतका लागि हजुरलाई हार्दिक बधाई ! मानिससँग यति वेला हजुरको पक्ष वा विपक्षमा मात्र उभिने विकल्प छ। माटो हरण र सुवास अपहरणको यो लडाइँ हजुरका लागि लंका विजय समान रहने छ। तर, मुलुकले नै हार्ने गरी हजुरको जीत ! हामी हिजो निबेकका रैती आज कथित विवेकका ।
१. रैती धन्य हामी १ के हामी फेरि सडक रगताम्मे पारौँ ? एक रगतको अन्तिम घोषणा छोप्न कति पसिना र रगत चाहिने हो ?
२. टेलिभिजन सेटमा असाधारण हृदयी देखिने तपाईँको विवेक एक आफ्नै जिन्दगीप्रति गैरजिम्मेवार नागरिकको स्वमृत्युप्रति यति विधि बेचैन किन बन्यो र जिल्ला अदालत र प्रहरी कार्यालय अगाडि हुलको निगरानी किन जरुरी पर्यो ? यदि होइन भने हजुरकी आली प्रेमीकाको हजुरका शब्द भनी प्रचारित उहाँ असुरक्षित हुनुहुन्छ भन्ने सन्देश के का लागि ?
३. यदि यो घटना तपाईँलाई फसाउनका लागि नै थियो भने ती पात्रहरूको किटानी जुलुसले गर्ने हो ? अनुसन्धानमा हजुरको सहयोग चाहिन्छ कि चाहिँदैन ? हजुरले भन्नू भएछ म निस्केको ५ मिनेटमा हत्यारा पत्ता लगाई दिन्छु ५ मिनेट भनेको हिरासतको गेटबाट सवारी साधनको ढोका सम्मको दुरी हो, त्यो बिचमा कुनै ब्रह्मत्व सायद पाइने हुँदैन यदि यसो हो भने हत्याराका बारेमा तपाईँलाई ज्ञान छ यो कुरा हाम्रो युगकी सीता निकितामार्फत सार्वजनिक किन नगरेको ? हजुरको आधुनिक ज्योतिषशास्त्रले नै अन्तिम फैसला सुनाउने र ब्रह्माको आदेश जस्तै हजुरको शब्द नै अन्तिम न्यायिक हुने हो भने अदालत र अन्य राज्यका निकायहरू किन चाहियो ?
४. कानुनी राज भएको देशमा टेलिभिजनमा समानान्तर अदालत चलाउने अधिकार हजुरले विश्वको कुन लोकतन्त्र र अभ्यासमा पाउनुभएको छ। यदि यसै हो भने तपाईंमाथि राज्य अपहेलनको अर्को आरोप लगाउने कि नलगाउने ?
५. माने पनि नमाने पनि तपाईँ नेपालको नागरिकता छोडेर अमेरिकी नागरिकता लिएको मानिस हो। हजुरको पूर्व प्रेम जीवनमा आएको निराशाले तपाईँलाई टेलिभिजन अगाडि ल्याई पुर्याएको तथ्य काल्पनिक हुँदै होइन ? तपाईँ आफ्नो प्रेम र सन्तानप्रति जिम्मेवार भएको भए हजुर मिस्टर रिवन्सन नै हुनुहुन्थ्यो। संयोगको कृपा हजुरलाई कुनै दक्षिणी भारतीय फिल्मको हिरो झैँ नेपालका दुखी नागरिकको उद्धारका लागि नेपाल आउनु थियो, आउनुभो धन्यवाद ! हिरो बनिरहने बल हजुरलाई प्राप्त भइरहोस्। तर हाम्रा आफ्नै दु:ख छन् त्यो तपाईँलाई थाहा छ। भोकाहरूको देशमा सबभन्दा बढी आवाज बिक्छ। हजुरको आवाजमा हामी मोहित भएको सत्य कुरा हो। त्यस कारण नै हामी हजुरका फ्यान छौँ। तर जब मुलुक कि तपाईँ भन्ने कठिन प्रश्न जनताका सामु राखिन्छ, माफ गर्नु गरिबीले देश प्रेम निल्न सक्दैन।
६. रवि जी आत्महत्या कर्ताका पनि परिवार रहेछन्। ती हजुरले नलगाई दिएको तर परिस्थितिले जुराएको प्रेममा पागल नै बनेछन् र डोरी किनेर मृत्यु रोजेछन् कोही वात छैन। एक कमजोर नागरिक मर्यो तर तिनका परिवारमा आँसुका रेखा हजुरका आँखामा आगो बनेर किन दन्कियो तिनकी चिचिली श्रीमतीको अनुहारमा तपाईँले आफ्नी निकितालाई किन खोज्नु भएन।तिनको फुटेको चुरामा तपाईँको नजर किन गएन। हजुरको मन निमेषभरमै कसरी नौनीबाट पत्थर बन्यो। के खाडीका निम्ति टेलिभिजनमा रोइने रुबाई नक्कली वा नाफाका लागि मात्र हो ?
७. आजका दिनमा तपाईँका लागि भनेर गाडीमा ओसारिएका नागरिक चितवन क्षेत्र नं ३ बाट ओसारिएका छन् स्मरण रहोस् चितवन क्षेत्र नं ३ नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो। जहाँ उनकाविरुद्ध राजावादी दलका नेता विक्रम पाण्डेले चुनाव लडेका थिए, उनी पछिल्लो काल अख्तियारद्वारा डमिएका यो देशका दश धनी मानिस भित्रका नेता हुन्। प्रचण्डको साख गिराउनु अहिले उनको एक मात्र उद्देश्य हो। हजुरका पक्षमा भनिएको आन्दोलनमा उनको लगानी नियोजित हो कि संयोग हो ?
८. आज चितवनमा बनाइएको भिडमा देशप्रतिको भरोसा कम छ। स्थिरताविरुद्धको कोकोहोलो छ। जुलुसमा सामेल हजुरकी आमा हजुरका निम्ति न्याय माग्ने भन्दा मुलुकको नेतृत्वप्रति गाली पुराण सुनाउन प्रशिक्षित छन्। राज्य अस्वीकार गर्ने विप्लवका कार्यकर्ता यो भिडका अगुवा छन्। तिनी कुनै ठुलो अनिष्टमार्फत आफ्नो नियोजित उद्धेश्य पूरा गर्न चाहन्छन्। विप्लव र राजावादीसँगै मधेसका राजेन्द्र महतो प्रवृत्ति समेतको अराजकतावादीको चौपारी बनेकोमा तपाईँलाई कुनै दुखेसो नहुनु यो कस्तो अचम्मको काकताली हो ?
९. यो समय इमानदारिता पूर्वक अनुसन्धानलाई सहयोग पुर्याउने समय हो। न कि नवीन प्रेमीको सामाजिक सञ्जालमार्फत थप अराजकताका लागि आव्हान गर्ने ? यस तथ्यले भन्छ हजुर आफ्नो गल्ती कबोल गर्ने चरणमा हुनुहुन्छ र प्रहरी ज्यादतीले बाध्य भएको भन्ने घुम्टो ओढेर हजुर उम्किन चाहनुहुन्छ।
१०. यो देशमा तपाईँ आजका प्रधानमन्त्री केपी शर्मा ओलीको सबभन्दा नजिकको पत्रकार हो। जो पहिलो पटक टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग चलाउनुहुन्थ्यो। यो एक हृदययता वा सामिप्यता बिना सम्भव थिएन। यस्तो बेलामा राज्यप्रति तपाईँको अविश्वास कुन मनोग्रथिले निर्देशित भएको हो। पछिल्लो समय हजुरमा जे फोवियाले काम गरेको छ त्यसले मुलुक चल्दैन। केजरीवालले दिल्ली हल्लाउलान् तर लाल किल्ला जित्दैनन्। तपाईँको काँधमा विवेकशील र विवेक हराम जो सुकै सवार भएर दम दिएको भए पनि ती आधीबाटोमा नै थाक्नेछन्।
११. त्यसो त छिमेकी नजर पनि तपाईँको पक्षमा भनिएको भिडमा पक्कै छ, तिनले पनि प्रत्यक्ष परोक्ष हजुर वा हजुर निकटकासँग संवाद गरेकै होलान् ? काश्मीर मुद्दा तिनले भरखरै जितेको अन्तिम अभियान हो। मालदिप्सको सङ्कट र भरतपुर सङ्कट छिमेकीको अर्को नयाँ कश्मीर निर्माणको प्रारम्भिक तयारी हो र तपाईँ त्यसमा दुरुपयोग हुने खतरा छ भन्ने बजार बहसमा तपाईँको धारणा के हो ?
१२. पुडासैनी प्रकरणमा तपाईँले जनतालाई बताउन छुटेका केही प्रश्नबाट तपाईँ भाग्न मिल्दैन। काठमाडौँको विज्ञापन एजेन्सीले गर्ने भनिएको बराबर र लेनदेनबारे पुडासैनी आरोप माथि तपाईँको सफाइ के हो ? चितवनबाट हजुरले करोडौँ असुलेको प्रमाण पुडासैनीले आफूसँग छ भनेका थिए। यो के हो ? मृत्यु सम्मुख रहेका पुडासैनीले पटक-पटक हजुरको नाम लिएका छन् र हजुरले सम्पर्क नै भएको छैन भन्नू भएको छ ।
तर, नेपाल प्रहरीभन्दा माथिको स्टिङग् अपरेसन गर्न सक्नेले यो मामिलामा आफूलाई सतर्क राखेन होला भन्ने आधार हुन्छ कि हुँदैन ? न्युज २४ ले सामान्य सम्मान पनि नराखी पुडासैनी र तिनको परिवारका विरुद्ध निरन्तर खनिनुमा कुनै अभीष्ट छ कि नाई ? सार्वजनिक भिडियो पोस्ट भएको २\३ सेकेन्ड मै यो भिडियो ईडिट गरिएको भन्ने कमेन्ट गरिएको छ। त्यसो भए तपाईँ लगायतकालाई यसको ओरिजिनल भिडियोबारे जानकारी छ भन्यो भने यो सही हुन्छ कि हुँदैन ? त्यसो हो भने यो तथ्य लुकाउने को हो र किन लुकाइयो ? मनमा लागेको खसखसी यही हो।हजुर हजुरको भाषाको चक्रव्यूहबाट छिटै निस्किनु हुनेछ र यी नाथे प्रश्नलाई निमेषभरमै उत्तरित गर्नु हुनेछ भन्ने अपेक्षासहित हजुरको एक शुभचिन्तक !!!



लाेकपाटी न्यूज
