नेपाल–भारत संयुक्त बैठक सम्पन्न, के-के भए निर्णय ?

nepal bharat baithak
लाेकपाटी न्यूज

काठमाडौं, ५ भदौ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सकिएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले बैठकको अध्यक्षता गरेका थिए।

बैठकमा दुबै मुलुक व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमत भएका छन्। दुबै मुलुकले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने कामलाई अघि बढाउने, नेपालका पाँच नाकासम्म रेलमार्ग विस्तार गर्ने र कोलकाता बन्दगाहबाट गंगा नदी हुँदै नेपालको कोशी र नारायणीसम्म मझौला खालको पानी जहाज संचालन गर्ने काममा भएका प्रगतिमा दुबै पक्ष सन्तुष्ट भएको बैठकपछि परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरि जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषि क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति गरेको छ। बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले लामो समयपछि नेपालमा राजनीतिक स्थिरता आएको र यसको निरन्तरता भारतको इच्छा भएको बताए।

भारतले सँधै नेपालको हित चाहन्छ भन्दै उनले नेपाल भारतको विशेष मित्र हो र उसको हित भारतकै हित हो भने। बैठककै क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले दुई अर्ब ४५ करोड रुपैंयाको चेक नेपाललाई हस्तान्तरण गरेको छ। पुनर्निर्माण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले चेक हस्तान्तरण गरे।

यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि भारतले १ अर्ब २९ करोड रुपैंयाको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।त्यसैगरी बैठकमा नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्