काठमाडाैं, ४ भदाै । चीनका राजदुत होउ यान्की (Mrs. Hou Yanqi) र माननीय अर्थमन्त्री डा. युवराज खतिवडाबीच शिष्टाचार भेटवार्ता भएकाे छ। राजदुत यान्की र मन्त्री खतिवडाबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएकाे हाे।
भेटघाटको क्रममा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल भएकाे छ। भेटमा तत्कालका लागि काठमाडौं – कोदारी, काठमाडौं – रसुवागढी र कोरला नाका मार्फत् आवागमन आवद्धता बढाउने विषयमा समेत छलफल भएको छ।
काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनियाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको छ।
त्यसैगरी आज नै मा. अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका महामहिम राजदूत एम.एस. भिरोनिका कोडीबीच पनि अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएकाे छ। भेटका क्रममा महामहिम राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा बताए।
यसप्रति आभार प्रकट गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको वस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए।



लाेकपाटी न्यूज

