के हो डेंगु रोग, कसरी बच्ने त ?

Dango pic
लाेकपाटी न्यूज

काठमाडौं, ४ भदौ ।काठमाडौं उपत्यकामा डेंगुका संक्रमित भेटिएका छन्।इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमूख डा. विवेककुमार लालका अनुसार ५५ जनामा डेंगुको संक्रमण देखिएको छ।

उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगुको संक्रमण देखिएको हो। यो सङख्या अझै बढ्न सक्ने डा.लालले बताए। २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको महाशाखाले काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुबै प्रजाति भेटिएको छ।

के हो डेंगु ?

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। डेंगु लागेमा मानिसको रक्तकोश घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्हास आउँछ। फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन्।एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ।

डेंगु लाग्दा देखिने लक्षण

१.असाध्यै टाउको दुख्ने

२.आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

३.ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

४.शरीरमा विमिरा आउने

५.वाकवाकी लाग्ने

६.पेट दुख्ने

७.नाक वा गिजाबाट रगत बग्ने

८. शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ। यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान,खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुँदैन।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ। यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ। साथै साना केटाकेटिलालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ।लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्