काठमाडौं, ४ भदौ। भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज दिउँसो काठमाडौं आइपुगेका हुन्।
उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए। बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ। बैठकमा सहभागी हुनुपूर्व उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ।
नेपाल-भारत संयुक्त बैठक दिउँसो तीन बजे होटल याक एण्ड यतीमा सुरु हुनेछ। प्रधानमन्त्रीसँगको भेटपछि जयशंकर उक्त बैठकमा सहभागी हुने छन्।
बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत,संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशमन्त्रीको रुपमा जयशंकरको यो पहिलो नेपाल भ्रमण हो।



लाेकपाटी न्यूज

