पुडासैनीले ‘अत्महत्या’ अगाडि ५ मिटर डोरी किनेको पसल भेटियो !

भिडियाेमा बाेल्दै गरेका पत्रकार पुडासैनी
लाेकपाटी न्यूज

चितवन, २ भदाै। चितवनको नारायणगढस्थित होटल कंगारुमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए ।

प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेज लिएर थप अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार पुडासैनीले लुगा सुकाउनका लागि भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् । ‘पसलबाट डोरी किनेको सीसीटिभी फुटेज नै भेटिएको छ, यस सन्दर्भमा थप अनुसन्धान भइरहेको छ,’ चितवन प्रहरीका एक अधिकारीले भने, ‘भिडियो फुटेजमा उनी केही बेरसम्म पसलमा बसेको र पसल सञ्चालकले कामदारलाई डोरी दिन भनेर पुडासैनीले प्लास्टिकको झोलामा डोरी राखेर लगेको देखिएको छ ।’

प्रहरीले गरेको सोधपुछका क्रममा सञ्चालकले लुगा सुकाउनका लागि भन्दै पुडासैनीले ५ मिटरजति डोरी मागेका थिए । तर, पसल सञ्चालक (महिला)ले यो होलसेल पसल हो, यहाँ ५ मिटर डोरी दिँदैनौ भन्दा पनि पुडासैनी अन्य पसलमा नगएको प्रहरी अधिकारीले जानकारी दिए ।

‘पसल सञ्चालकले होलसेल पसलमा ५ मिटर डोरी बेच्दैनौ भन्दा पनि पुडासैनी अन्य पसलमा गएनन्, उनी त्यहाँ १० मिनेटभन्दा पनि बढी रोकिएपछि पसल सञ्चालकले अन्ततः ५ मिटर डोरी काटेर दिन कामदारलाई भनेको बयान दिएका छन्,’ चितवन प्रहरीका एक अधिकारीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्