काठमाडाैं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउनका लागि आफूले स्कूल विभागको दाबी छोडेको बताएका छन् । प्रवक्ता श्रेष्ठले स्कूल विभागमा दाबी गरिरहँदा एकता प्रक्रिया नै अलमलमा पर्ने देखेपछि आफू पछि हटेको बताएका हुन् ।
उनले भने, ‘मेरो रुची स्कूल विभागमा थियो । धेरै साथीहरुले पनि मलाई स्कूल विभागको जिम्मेवारी लिनुपर्छ भन्नुभएको थियो । तर यसले पार्टी एकतालाई अघि बढाउन सहज देखिएन। म पार्टी एकताको हितको लागि पछि हटें ।’
शुक्रबार नेकपा सचिवालय बैठकले स्कूल विभागमा दाबी गरिरहेका उपप्रधानमन्त्रीसमेत रहेका पार्टी सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको छ । स्कूल विभागको नेतृत्वलाई लिएर पटक–पटकको सचिवालय बैठकसमेत सरेकाे थियो ।
स्कूल विभागमा श्रेष्ठ र पोखरेलसँगै नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, राम कार्की, देवेन्द्र पौडेल र बेदुराम भुसालले समेत दाबी गर्दै आएका थिए । पूर्वएमाले पंक्तिबाट पनि ईश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी नदिन लभिङ्ग निकै चलेको थियो ।



लाेकपाटी न्यूज

