पुडासैनी आत्महत्या प्रकरणप्रति नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण

Salikram-with-RAbi
लाेकपाटी न्यूज

काठमाडाैं । न्यूज ट्वान्टी फोर टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने तथा सञ्चारकर्मी युवराज कँडेल पक्राउको नेपाल पत्रकार महासंघकाे गम्भिर ध्यानाकर्षण भएकाे छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका उनीहरुलाई प्रहरीले बिहीबार साँझ अनुसन्धानका लागि पक्राउ गरेको थियो। महासंघ न्युज ट्वान्टी फोर शाखाले भने सो पक्राउ सामाजिक सञ्जालमार्फत् लगाएका आरोपका आधारमा भएको दाबी समेत गरेको छ।

‘आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्दागर्दै प्रहरीले कार्यक्रम सिधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गर्दछौं’, शाखाका कार्यवाहक अध्यक्ष प्रदीपराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रम प्रसारण हुन एक घण्टा २५ मिनेट मात्र बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिएको र प्रस्तोता बिना नै कार्यक्रम सञ्चालन भएको जानकारी गराउँदछौं।’

सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा गम्भिर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख छ। पत्रकार महासंघ केन्द्रले हिजो बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार पुडासैनी आत्महत्या प्रकरण निष्पक्ष छानिबनको माग गरेको थियो। शाखाको विज्ञप्तिमा घटनाको निष्पक्ष छानविन गर्न माग गरिएको छैन।

‘पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारक भन्दै न्यूज २४ टेलिभिजनबाट प्रसारित जनतासंग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेको भिडियो विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएसँगै महासंघले उक्त प्रकरणमा निपष्क्ष ढंगले छानबिन गर्न सम्बन्धित निकायमा आग्रह गरेको छ’, महासंघले भनेको थियो, ‘महासंघ यस घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ।’

पत्रकार पुडासैनीले मर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने पक्राउ गर्न प्रहरीलाई दवाब परेको थियो। डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो।

भिडियोमा पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्