काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस धमाधम सार्वजनिक भएकोप्रति आपत्ति प्रकट गर्दै एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्धा दायर गर्ने जनाएकी छिन् ।
अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गोप्य हुनुपर्ने एसएमएसहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
घटना भएपछि सम्बन्धित निकायलाई ती एसएमएस दिँदा ठीक होला तर सामाजिक सञ्जालमा सार्वजनिक गरेर कसैलाई दोषारोपण गर्नु कत्तिको ठीक हो भनेर उनले प्रश्न गरेकी छन्।
शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै उनले यसबारे कानूनी उपचार खोज्ने जनाएकी हुन् । आफ्ना गाेप्य एसएमएसहरु अरुबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिनुले आफ्नाे व्यक्तिगत स्वतन्त्रता हनन् भएकाे उनकाे गुनासाे छ।
एक सञ्चारमाध्यमसँगकाे कुराकानीका क्रममा उनले भनेकी छन्, ‘मैँले शालिकरामले पठाएका एसएमएस कृष्ण थापा र अनिल ढुंगेललाई गोप्यता कायम राख्ने शर्तमा शालिकरामलाई सम्झाईदिन आग्रह गर्दै दिएकोमा सामाजिक सञ्जालमार्फत दीपक बोहोरा र ज्वाला संग्रौलाले किन सार्वजनिक गरे ? मेरो व्यक्तिगत स्वतन्त्रतामाथि हनन् भयो ।’
यसैबीच अधिवक्ताहरुले अर्काको एसएमएस विना अनुमति सार्वजनिक गर्नु अपराध हुने बताएका छन् । संविधानको धारा २८ मा गाेपनियतासम्बन्धीको हक उल्लेख छ । जसमा व्यक्तिको जिउ, आवास, सम्पत्ति, पत्राचार, लिखत र तथ्याङकसम्बधी डकुमेन्टहरु सार्वजनिक गर्न नपाउने उल्लेख छ ।



लाेकपाटी न्यूज
