पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनै जनालाई अदालत पेश गरिने

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज

काठमाडाैं, ३१ साउन। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन पुर्‍याइएको छ।

हिजो बिहीबार टेलिभिजन कार्यालयबाटै पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई कडा सुरक्षाबीच मध्यराति चितवन जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको हो।

उनीहरूलाई आजै चितवन जिल्ला अदालत पेश गरिने चितवन प्रहरीले जनाएको छ।एसपी दानबहादुर मल्लका अनुसार मोबाइलमा खिचिएको भिडियोको फरेन्सिक रिपोर्ट आइसकेकाे र पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। दुबै रिपाेर्ट आएपछि उनीहरुलाई अदालत पेश गरिनेछ।

रवि लामिछानेका कानून व्यवसायी र परिवारका सदस्य पनि चितवन पुगेका छन्।तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पुडासैनीले आत्महत्या गर्नु अगाडि आफैंले रेकर्ड गरेकाे भिडियाेमा आफूलाई आत्महत्याका लागि बाध्य बनाउने रवि लामिछानेसमहित तीन जना भएकाे बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्