पत्रकार पुडासैनी प्रकरणमा ‘मृत्युकालिक कथन’ बलियो प्रमाण

pudasaini
लाेकपाटी न्यूज

काठमाडौं, ३१ साउन। पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानकै आधारमा लामिछानेसहित तीन जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको हो।

साउन २९ गते पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो नै सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि मात्र यो प्रकरण ब्यापक बन्यो। भिडियोमा उनले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन्।

सोही अनुसार यस अघि नै प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अनुसन्धान अगाडि बढाइसकेको थियो। सार्वजनिक हुनु अगावै प्रहरीले भिडियो हात पारिसकेकाले अनुसन्धानले ठोस रुप नै लिइसकेको प्रहरी स्रोत बताउँछन् ।

सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ। पुडासैनीले रेकर्ड गराएको भिडियोलाई प्रहरीले ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ मानेको छ।

मृत्युकालिक कथनलाई प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्छ। ‘पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्डमा भनेको कुराहरू प्रमाणित हुन्छ। यो बलियो प्रमाण हो’, एक प्रहरी अधिकृतले भने। पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

शुरुमा उनको आत्महत्या भनिए पनि त्यसबारे प्रहरीसहित स्थानीय र आफन्तले आशंका गरे। प्रहरीले पनि अनुसन्धान जारी राख्यो। साउन २४ गतेको प्रतिनिधिसभा बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो। शून्य समयमा बोल्ने सांसदहरुले पुडासैनीको आत्महत्याबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

लामिछाने र कँडेललाई ‘न्यूज २४’ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो। पक्राउ परको तीनै जनालाई प्रहरीले चितवन लगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्