काठमाडाैं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।
चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई पक्रेर चितवन लैजान लागेको बताइएको छ । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।
पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गर्नुअघि ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो बयान सार्वजनिक भएको थियो ।
मृतक शालिकरामको मोबाइलको फोरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट तयार भएको बताइएको छ । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जनाइएकाे छ । ती रिपोर्टहरु भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।
यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई नियन्त्रणमा लिइसकेको छ । ओखलढुंगा घर भएकी अस्मिताको सुरक्षा चुनौती देखिएको भन्दै उनलाई प्रहरी संरक्षणमा राखेको प्रहरीले जनाएको छ ।



लाेकपाटी न्यूज

