निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमतिः मन्त्री भट्टराई

लाेकपाटी न्यूज

काठमाण्डौं, ३० साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अन्तराष्ट्रिय विमानस्थलमा पहिलाभन्दा सुधार भइरहेको जानकारी दिएका छन्।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने समेत बताएका छन् । चेम्बर अफ कमर्शले काठमाडौंमा आज गरेको “नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’’ बिषयक कार्यक्रममा बाेल्दै उनले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताए।

मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गरे । उनले यही वर्षको डिसेम्बरसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने गरी काम भइरहेको बताउँदै समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको बताए ।

उनले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महङ्गो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन इयुले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको जानकारी गराए।

हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औसतभन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमा विशेष जोड दिए । पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले यूरोपियन यूनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदा हवाई टिकट भाडा महंगो भै चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए।

उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने जनाए  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सिका लागि गाडि र गाडिमा प्रयोग हुने इन्धन नै कच्चा पदार्थ भएकोले पर्यटन प्रर्बद्धन गर्न गाडी आयातको भन्सार दरमा छुट दिनुपर्ने बताए । उनले सरकारले उद्योगलाई एक तह मुनि भन्सार छुट दिए जस्तै इन्धनमा भ्याट छुट दिइनु पर्ने र यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गर्न  मन्त्रिलाई  आग्रह समेत गरे । अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियत दिनुपर्ने बताए ।

कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो । सो अवसरमा नेपाल सरकारको उच्च पदस्थहरु लगायत अन्य पदाधिकारीज्यूहरुको उपस्थिती थियो । साथै चेम्बर अफ कमर्शका पदाधिकारी, पर्यटन समिति, वस्तुगत तथा आबद्ध संघका पदाधिकराीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्