काठमाडाैं, ३० साउन। लगानी अभावमा व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पूँजी प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को महिनादेखि च्यालेन्स फण्ड कार्यान्वयनमा ल्याउने बताएका छन्।
युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले च्यालेन्ज फण्डका लागि कार्यविधि बनेको र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्को महिनाबाट कार्यान्वयनमा आउने बताए।
उनले भने, ‘२–४ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने हामी सहयोग गर्छौँ, गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयोजना कार्यान्वयन गर्न सकिएन। यो वर्ष कार्यविधि बनेको छ, मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयनमा ल्याउँदै छौँ।’
च्यालेन्ज फण्डमार्फत सरकारले युवाहरुलाई बिउ पूँजीका रुपमा नयाँ व्यवसाय गर्न केही पैसा दिनेछ। तर, त्यो पैसाको व्याजमा कति अनुदान, कसरी प्रदान गर्ने भन्ने विषयमा भने कार्यविधिले टुंगो लगाउने छ।
अर्थ मन्त्री खतिवडाले सरकारले ल्याएको अन्य सहुलियतपूर्ण कर्जा दिन बैंकहरुले गरेको आनाकानीप्रति असन्तुष्टि जनाए। ‘चाहे त्यो स्वरोजगार कर्जा होस् चाहे शैक्षिक कर्जा नै किन नहोस् वा महिला उद्यमी, भूकम्प नै किन नहोस कृषि बाहेक अरुमा खासै गएको छैन’ उनले भने ‘अबको प्रयास ५ प्रतिशत भन्दा कम व्याज तिरेर तपाईले त्यो पैसा पाउन सक्नुहुन्छ।’
सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिन उनले बैंकहरुलाई आग्रह गरे। ‘नैतिक दबाबले नपुुगे अरु दबाब पनि छन्। त्यो अपनाउन नपरोस्। सरकार हस्तक्षेप गर्न चाहँदैन’ उनले भने।
अब युवा तथा महिलालाई आकर्षित गरेर उद्यमको विकास गर्नुपर्ने जरुरत रहेको बताउँदै उनले कृषि क्षेत्रको वरिपरी अत्यन्तै धेरै उद्यमशिलताको अवसर सृजना हुने बताए। नेपालमा भएकामध्ये आधा उद्योग अनौपचारिक क्षेत्रमा रहेको बताउँदै उनले ती उद्योगलाई औपचारिक हुन आग्रह गरे।
उनले भने, ‘तपाईलाई सहयोग गर्न राज्यले चिन्दा पनि चिन्दैन। आंशिक रुपमा मुनाफा भए पनि नयाँ किसिमले कुनै व्यवसाय गर्न खोज्नुभएको छ भने समस्या हुन्छ। यदि तपाईले झुुक्किएर नजानेर कुनै किसिमले अनौपचारिक व्यवसाय गर्नु भएको छ भने कर प्रणालीमा दर्ता भएर सम्बन्धीत निकायबाट स्वीकृत लिनु भएको छैन भने अब औपचारिक हुनको लागि मौका रहेको छ। यो अवसरको सदुुपयोग गर्नु होला। प्रणाली नबुुझेर असल मनसायले गरेको काम रहेछ भनेर राज्यले हेर्छ।’



लाेकपाटी न्यूज

