नेकपा सचिवालय बैठक पुनः स्थगित, प्रधानमन्त्रीलाई के भयाे ?

Nekapa
लाेकपाटी न्यूज

काठमाडौं, ३० साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हाे।

पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई ज्वराे आएकाले बैठक स्थगित भएकाे जनाए। उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरुले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्‍ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।’

आजको बैठकमा यसअघिदेखि छलफल हुन नसकेका कार्यसूचीमाथि छलफल गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री सन्चो नभएपछि बैठक स्थगित गरिएको हो ।यसअघि मंगलबार तयारी नपुगेको भन्दै बुधबारका लागि स्थगित गरिएको बैठक बुधबार पनि बस्न सकेको थिएन ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा सुरुमा ३२ वटा विभाग प्रमूख चयन गर्ने र बाँकी कार्यसूचीतर्फ अघि बढ्ने समझदारी भएको नेकपाका एक नेताले बताएका थिए।

लामाे समयदेखि नेकपामा पार्टी स्कूल विभागकाे जिम्मेवारी कसलाई दिने भन्नेमा विवाद छ। स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादीले नै अडान राखेका छन्। पूर्वएमालेबाट ईश्वर पाेखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ मध्ये स्कूल विभागकाे जिम्मेवारी कसलाई दिने भन्ने विषयमा नेकपाभित्र विवाद छ ।