काठमाडौं, ३० साउन। वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिका स्थान ल्याइएको थियो।
निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमूख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्।
उनले मदन पुरस्कार, साझा पुरस्कार,पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ।उनको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।



लाेकपाटी न्यूज

